काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम टी ट्वान्टी अन्तराष्ट्रिय खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।
यसअघि अगस्ट २५ बाट नेपालले आफ्नो यात्रा अघि बढाएको थियो । सिरिजको पहिलो खेलमा घरेलु टोलीलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा केन्याले पुनरागमन गर्यो । १८ रनले नेपाललाई पराजित गर्दै सिरिजमा १–१ को बराबरी गर्यो । तेस्रो खेलबाट नेपालले सिरिजमा पुन: अग्रता बनायो । यस खेलमा उत्कृष्ट ब्याटिङसहित केन्यालाई ४ विकेटले हरायो । चौथो खेलमा ७ विकेटले नतिजा केन्यालाई सुम्पियो ।
अन्ततः पाँचौ तथा अन्तिम दिन यस सिरिजको फैसला हुने भयो । निर्णायक खेलमा उत्कृष्ट खेल पस्केको नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज कब्जा गर्यो ।

अब नेपालले केन्याविरुद्ध सोहि मैदानमा एकदिवसीय सिरिज खेल्नेछ । तीन खेलको सिरिजको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुनेछ । यद्दपी नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन । किनकी केन्यासँग आईसीसीको एकदिवसीय मान्यता छैन । केन्याले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । सन् २०१४ को क्रिकेट विश्वकप छनोटमा पराजित हुँदै पाँचौं स्थानमा पर्नु अघि १८ वर्षसम्म एकदिवसीय मान्यता केन्यासँग थियो ।
केन्या सन् १९८१ देखि आईसीसीको एक एसोसियट सदस्य रहेको थियो । केन्याले सन् १९९६ देखि सन् २०११ सम्म पाँच क्रिकेट विश्वकप खेलेको छ । दक्षिण अफ्रिकामा सन् २००३ क्रिकेट विश्वकपमा सेमिफाइनलसम्म पुगेर सबैलाई अचम्मित बनाएको थियो । बलियो इतिहास बोकेको केन्या क्रिकेट अहिले भने न्युनस्तरको टिम मानिन्छ । तर केन्याको जुन परिचय दशकौ अघि थियो, पक्कै नेपाली क्रिकेटले पनि त्यसबेला अनुशरण गर्दथ्यो । हाल टी-ट्वान्टी वरीयतामा केन्या निकै पछि छ, २८ औं स्थानमा ।
कुनै समय उनीहरुले निर्माण गरेको सशक्त धरातल हेर्ने हो भने नेपालले केन्यासँग सिरिज खेलेर गौरव महशुस गर्नुपर्छ।
यस सिरिजको उपलब्धि के रह्यो र नेपालले सम्बोधन गर्न आवश्यक समस्याका बारेमा चर्चा गर्न लायक केही बिषय छन् । यस सिरिजमा देखिएका केही सकारात्मक संकेतलाई उपलब्धि ठान्दै भविष्यप्रति उत्साहित बन्न सक्छौ ।
अर्जुनको उदय -
सुदूरपश्चिम प्रदेश क्रिकेटको लागि सदाबहार उर्बरभुमी हो । पुस्तौदेखि ठुला हस्ती यस प्रदेशले नेपाली क्रिकेटलाई दिएको छ । यहि क्रममा पछिल्लो पुस्ताका 'एक्साइटिंग’ क्रिकेटर हुन्, अर्जुन साउद । केन्या टुरमा टी ट्वान्टी सिरिज सकिएको छ । सम्भवतः सबै भन्दा ठुलो चर्चा अर्जुनले नै पाए । उनी त्यसको हकदार पनि छन् । अन्तराष्ट्रिय डेब्युमै प्रभावशाली प्रदर्शन गर्नु सजिलो हुँदैन ।

सानो उमेर तर परिपक्व सोच । धेरै भएको छैन, नेपालको अन्डर– १९ टोलीबाट अर्जुन साउदले नेपालको लागि उमेर समूहमा खेलेको । अहिले उनी सिनियर टोलीबाट खेलिरहेका छन् । उनले आफ्नो डेब्यु खेलबाट नै सबैलाई प्रभावित पारिसकेका थिए । बिशेष गरेर उनको मानसिकताको अहिले निकै तारिफ भैरहेको छ । अब्बल र अनुभवी ब्याटरले निराश पारिरहेको बेलामा उनको खेल्ने शैलीले भने आशाको किरण देखाएको छ । सिरिजभर कुनैपनि बेला लागेन कि उनले डेब्यु सिरिज खेलिरहेका छन् ।
उनले ब्याटिङ सँगसँगै विकेट किपरको पनि विकल्प दिन्छन् । उनले दुई वटा राम्रो क्याच गर्नुका साथै दुई वटा स्टम्पिङ पनि गरे । नियमित विकेटकिपर ब्याटर आसिफ सेखको ठाउँमा उनले मौका पाएका थिए । आसिफ नेपालको लागि महत्वपुर्ण खेलाडी हुन् । उनको कमीलाई पूरा गर्न पक्कै पनि चुनौती हो । अर्जुन यसमा खरो उत्रिए । मौका पाएका तीन खेलमा उनले २३ भन्दा माथिको औसतमा ७० रन बनाए । उनको ब्याटिङमा देखिएको राम्रो पक्ष भनेको खेलको स्थितीलाई बुझ्न सक्नु हो । कुनबेला सट खेल्ने कुनबेला साझेदारी बनाएर खेल्ने भन्ने कुराको ज्ञान उनमा देखिन्थ्यो । सट खेल्न कत्ति नहिच्किचाउने अर्जुन एकदिवसीय ढाचाको क्रिकेटमा पनि उत्कृष्ट खेल्न सक्छन ।
भारतमै हुर्के बढेका अर्जुनले भारतमै क्रिकेट सिके । घरेलु प्रतियोगितामा प्रधानमन्त्री कपबाट उनको उदय भएको हो । सुदूरपश्चिम टिमबाट घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुनलाई नेपाली क्रिकेटको भविष्यको रुपमा हेर्न थालिसकिएको थियो । अन्तिममा नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई उनले प्रभावित त पारिसके, यहि एकरुपता उनले आफ्नो ब्याटिङ्गमा आगामी दिनमा राख्नु जरुरी छ । उनको उदय यस सिरिजको महत्वपूर्ण उपलब्धि हो ।
मल्लको पुनरागमन -
नेपाली क्रिकेट टिमलाई सबै भन्दा ठुलो राहत केन्यामा गएर मिल्यो । यस सिरिजमा ज्ञानेन्द्रले आफ्नो गुमेको लय फिर्ता मात्र गरेनन्, टोलीलाई एउटा स्थिरता पनि प्रदान गरे । एउटा कुरा के प्रमाणित भएको छ भने उनी क्रिकेटबाट टाढा होलान तर नेपाली क्रिकेट उनीबाट टाढा हुनै सक्दैन । टोलीका सबैभन्दा अनुभवी खेलाडी फर्किनुले टोलीलाई धेरै पक्षबाट फाइदा छ । झन् उनी त नेतृत्व गरिसकेका खेलाडी हुन् ।
पछिल्लो समय राष्ट्रिय टोलीले सांगठनिक रुपमा जे जति उतारचढाव देख्यो, त्यसको एउटा हिस्सा ज्ञानेन्द्र पनि थिए तर आवश्यकताले उनलाई खोज्नु र उनले माग पुरा गर्नु अपवाद हुन सक्दैन । यो अपरिहार्य हो भन्ने कुरा यो सिरिजले बुझाएको छ । ज्ञानेन्द्र नेपाली क्रिकेटको यात्रामा खम्बा मात्र होइनन्, धरोहर नै हुन् । जो हिजो पनि थिए र आज पनि छन् ।

सिरिजको अन्तिम खेलमा नेपालको लागि जित त सानदार थियो नै, महत्वपुर्ण कुरा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालको तर्फबाट पहिलो अर्धशतक पुरा गर्दै टोलीमा बलियो पुनरागमन गरे । 'प्लेयर अफ द म्याच’ बनेका ज्ञानेन्द्रबाट चाहिएको समयमा ५९ रनको रन निस्कियो । नेपालको लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा ९ सय ९८ दिन (१८ इनिङ्स) पछि उनको यो पहिलो अर्धशतक हो ।
सिरिजभर २७ को औसतमा उनले १ सय ३५ रन जोडे । नेपालको मिडल अर्डरले अहिलेसम्म बिश्वास गर्न लायक प्रदर्शन दिन सकेको छैन । यस्तोमा उनको उपस्तिथीले सम्भावित थप दुर्घटनालाई जोगाउन सक्छ ।
'शार्प’ सन्दीप -
नेपालका कप्तान सन्दीप लामिछाने दिन प्रतिदिन नयाँ नयाँ उचाई हासिल गरिरहेका छन् । व्यक्तिगत सफलताकै कुरा गर्ने हो भने पनि केन्या भ्रमण उनको लागि कोशेढुङ्गा बन्यो । उनी नेपालको प्रमुख हतियार हुन् । तसर्थ उनी धारिलो अर्थात 'शार्प’ भईरहनु अत्यावश्यक हुन्छ । नेपालको अर्को खुसी भनेको सन्दीपको एउटा बलरको रुपमा विश्वस्तरीय छाप यस सिरिजमा पनि कायम रह्यो । उनी 'प्लेयर अफ द सिरिज’ नै बने ।

पाँच खेलमा १२ विकेट लिँदै उनी सिरिजमा सर्वाधिक विकेटकर्ता बने । चौथो खेलमा जम्मा ९ रन खर्चिएर ५ विकेट लिएर 'बेस्ट फिगर’ पनि आफुसंगै राखे । सन्दीप लामिछानेलाई अब टी-ट्वान्टी अन्तराष्ट्रियको इतिहासमा सबैभन्दा छिटो सय विकेट लिन ८ खेलमा १५ विकेट चाहिएको छ । ३८ टी–ट्वान्टी विकेटका साथ उनले टी-ट्वान्टी ढाचाको क्रिकेटमा क्यालेन्डर वर्षमा सबैभन्दा बढी विकेट लिएका छन् । यस वर्ष उनको ६६ विकेट (एकदिवसीय र टि ट्वान्टी) एक क्यालेन्डर वर्षमा एसोसियट बलरद्वारा लिएको सबैभन्दा धेरै विकेट हो ।
परिपक्व बन्दै रोहित -
पाँच खेल, ३१ को औसतमा १ सय ५६ रन ।
यस सिरिजकै सर्वाधिक रन बनाउने खेलाडीको पहिलो सूचीमा नेपालका उपकप्तान रोहित कुमार पौडेलको नाम छ । रोहित पछिल्लो समय नेपालका सबैभन्दा भरपर्दा ब्याटर बनेर आएका छन् । नेपालले खेलेका सबै ढाचाको क्रिकेटमा 'ब्याटिङ इन्चार्ज’ को भूमिका उनले सम्हालिरहेका छन् । उनको ब्याट चल्नु नेपालको निश्चित जित र नचल्नु नेपालको हार । अर्थात नेपालले निकाल्ने नतिजामा उनकै प्रदर्शन निर्णायक हुने गरेको छ ।

केहि समय अघिसम्म उनलाई टी-ट्वान्टी ढाचामा राखिदैन थियो । तर उनले यस ढाचामा पनि राम्रो पुनरागमन गरेका छन् । आफ्नो पुनरागमन पछि रोहितले टी ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो करियरको ७८ दशमलव ७२ प्रतिशत रन बनाएको तथ्य बाहिर आएको छ । उनले पछिल्ला दुई खेलमा अर्धशतकको नजिक पुगेर विकेट गुमाउनु दुर्भाग्य थियो । ४७/४७ रनमा उनी आउट भएपनि उनको त्यही इनिङ्सहरु निर्णायक थियो । यस पटक उनको प्रदर्शनमा यो एकरुपता आउँदा उनी कति परिपक्व हुदैछन् भन्ने देखिन्छ ।
अब एकदिवसीयको कप्तानी गर्ने अवसर पनि छ, उनीसँग । कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न गैसकेका छन् । उनको जिम्मेवारी अब रोहितले निभाउनेछन । उनको कप्तानी कस्तो हुने हो भन्ने चासोको बिषय छ ।
यस सिरिजमा देखिएका समस्याहरु बिगतका जस्तै हुन् । उही पुराना समस्याहरु नयाँ आकारमा देखिएका मात्र हुन् ।
परम्परागत ब्याटिङको समस्या यथावत -
नेपालको ब्याटिङको बारेमा जति बयान गरेपनि साध्य छैन । यहि ब्याटिङले इतिहासमा असिमित खुसी दिएको छ । तर अभागी छ हाम्रो ब्याटिङ, त्यही खुसीको मूल्य नराम्ररी चुकाउछ पनि । नेपालको ब्याटिङको परिचय 'अस्थिरता’ हो । त्यही अस्थिरताले गर्दा नेपालको ब्याटिङले श्रेय पाउदैन । कुनै खेलमा लाग्छ अहो ! अब त सुधार भयो कि तर लगत्तै यसरी निराश पार्छ कि सबैजना टाउकोमा हात राख्छन् । नेपालले सबै गरिसक्यो खेलाडी परिवर्तन गरेर हुदैन, भरपर्दा प्रशिक्षक ल्याएर हुदैन, अझैपनि नसुध्रिने ब्याटिङले सरोकार राख्ने सबैलाई हैरान बनाइसक्यो ।
यस सिरिजमा सबैभन्दा अप्रत्यासित चौथो खेल रह्यो । किनकी नेपालले लज्जास्पद हार बेहोर्यो । १ सय २ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले केवल ९४ रन बनाउन सक्यो र ७ विकेटले नतिजा केन्यालाई सुम्पियो । यो नेपाली क्रिकेटका लागि खराब दिन रह्यो । एक खेल अगावै सिरिज जित्ने अवसर मात्र गुमाएन, ब्याटिङको समेत ठुलो आलोचना भयो । यतिमात्र हैन, पुरै सिरिज अवधिभर धेरै क्षणहरु आए जब नेपाली ब्याटिङ्ग डगमगायो । नेपाली क्रिकेटको सबैभन्दा ठुलो कमजोरीको रुपमा एकपटक फेरी ब्याटिङ्ग देखियो । निराशाजनक पक्ष भनेको केन्याका पार्ट टाइम बलरविरुद्ध रन जोड्न नेपालका ब्याटरहरु संघर्ष गरिरहेका थिए ।

दीपेन्द्र सिंह ऐरीको गुमेको लय -
'मिस्टर डिपेन्डेबल’ले यस पटक पनि आफ्नो उत्कृष्ट लय हासिल गर्न सकेनन् । क्यानडा र स्कटल्याण्ड भ्रमणमा उनको ब्याटिङलाई लिएर प्रश्न उब्जिएको थियो । यस सिरिजमा पनि उनको ब्याटिङको जादु खास चल्न सकेन । उनलाई टी-ट्वान्टी ‘स्पेसलिस्ट’ भनिन्छ । तर उनले यसमा पनि संघर्ष गरे । जसले गर्दा आम समर्थक चिन्तित छन् । पहिलो खेलमा ३३ र अन्तिम खेलमा २२ रन जोडेका उनले बाँकी ३ खेलमा दोहोरो अंक छुन सकेनन् । पाँच खेलमा १४ को औसतमा उनले ७० रन बनाए । बरु बलिङ भने ठीक ठाक गरे, ६ विकेट लिए । तर उनीमाथि अपेक्षा ब्याटिङको छ । त्यही म्याच विनर दीपेन्द्र सिंह ऐरीको पुरानो रुपको पर्खाइमा सबै छन् ।
जित भित्र लुकेको अदृश्य हार -
एउटा ऐतिहासिक टोलीविरुद्धको जित नेपालको लागि कम महत्वको छैन । तर, वर्तमानमा आफुभन्दा तलको स्तरमा क्रिकेट खेलिरहेको देशविरुद्ध ३–२ ले सिरिज जित्दा नेपालको लागि जितको खुसीले कति महत्व राख्यो, त्यसमा बहस हुनसक्छ । पछिल्लो दशकयता नेपाली क्रिकेटको महत्वाकांक्षा जति आकासिएको छ, नतिजा त्यतिनै खस्किदो पनि छ । यो तितो यथार्थ हो । केन्याविरुद्धको जितले नेपालको त्यो महत्वकांक्षालाई न्याय गर्यो त ? बिचार गर्ने हो भने त धारणा यसरी पनि बनाउन सकिन्छ ।
चिन्ता एउटै हो, जितको खुसियालीमा कतै हारेका केहि कुराहरु बिर्सियौ कि ? के यो प्रभावशाली जित हुन सक्थ्यो ?

यस सिरिजमा नेपालले ब्यहोरेका दुई वटा हार कतै महँगो नबनोस् । त्यही हारले नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय वरीयतामा समेत प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा नेपालको स्थान घटेको छ । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुनका लागि शीर्ष ११ भित्र पर्नुपर्छ ।
योजना र रणनीतिमा स्पष्टता देखिएन -
उसो त धेरै कुरामा नेपालको योजनाले विश्वस्त पार्न सकेन । केहि प्राबिधिक त्रुटिहरु देखिन्थे । केहि भने समिकरणमा । केहि निर्णयमा त, केहि उदेश्यमा । क्रिकेटमा डेथ ओभर निकै महत्वपुर्ण हो । तर, नेपाल अझै पनि यसको सदुपयोग गर्न सकिरहेको छैन । न त ब्याटिङबाट, न त बलिङबाट । ब्याटिङमा फिनिसरहरु जमिरहेका छैनन् भने बलिङमा डेथ ओभर बलिङ धारिलो देखिएन । अझ बलिङमा स्पिनर प्रभावकारी होलान् ? यो गम्भीर कुरा हो । बिगतमा जस्तो आइकनिक स्पिन जोडी अहिले देखिदैन । सन्दीप जस्तै विकेट टेकर स्पिनरको अभाव छ ।
नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा समेत त्यस्तो देखिने गरि परिवर्तन भएन । हुन त अहिलेनै उनको प्रशिक्षणमा प्रश्न गर्नु मुर्खता हुनेछ, त्यही पनि अंग्रेजीमा एउटा प्रसिद्द भनाइ छ नि, 'मर्निङ शोज डे’ ।
.jpg)
बरु खेलाडी परिवर्तन भईरहे । यसमा पक्कै प्रभाकर आफ्नो बेस्ट ब्याटिङ लाइनअप बनाउन चाहन्छन् । समीकरण मिलाउन चाहन्छन् तर कुनै खेलाडीको सुरुआती ११ मा छनोट र रोटेसनले उनीमाथि प्रश्न गर्ने ठाउँ भने दिन्थ्यो । जस्तै पवन सर्राफ, करण केसी, आरिफ सेख, विवेक यादव जस्ता खेलाडीलाई म्यानेजमेन्टले कुन भूमिका दिन खोजिरहेको छ, त्यो अस्पष्ट छ । कि त पूर्ण ब्याटरमा जाँदा फाइदा होला, कि त पूर्ण बलरमा । एउटै प्रकृतिको भूमिकामा संख्या पनि सिमित राखेमा नतिजा राम्रो आउन सक्ला । तब मात्र पुरै ओभर बलिङको कोटा पुर्याउन सकस हुदैन ।
प्रशिक्षक नयाँ छन् र प्रशिक्षकका लागि अन्य नयाँ खेलाडी हेर्ने विकल्प पनि छ । अर्जुन साउदको प्रदर्शनले अब त्यो बाटो झन् बलियो गरि खुलेको छ । आउने दिनमा घरेलु प्रतियोगिताले ठुलो प्रभाव पार्ने निश्चित छ । टी-ट्वान्टी लिग, प्रधानमन्त्री कप जस्ता प्रतियोगिताको महत्व झन् बढ्नेछ । नयाँ नामहरु उदाउन सक्छन् । तिनै प्रतियोगिताबाट आफैले टोली निर्माण गर्न सक्छन् ।