काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज बुधबार एक खेल हुदैछ ।
बुधबार हुने खेलमा समूह 'ए' मा रहेका भारत र हङकङ प्रतिस्पर्धा गर्ने छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
भारत आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । भारत आजको खेल जितेर सुपर चारमा पुग्न चाहन्छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएर सुखद सुरुआत गरिसकेको छ ।
पहिलो खेल खेलिरहेको हङकङ पनि जित निकाल्दै प्रतियोगितामा सुरुआत गर्न चाहन्छ ।
हङकङले पहिलो पटक भारतसँग टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । एकदिवसीय अन्तराष्ट्रियमा दुई टोली २ पटक खेलेका छन् । दुबै खेलमा भारत विजयी भएको छ ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह 'ए' मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।
समूह 'बी' मा अफगानिस्तान,बंगलादेश तथा श्रीलंका रहेका छन् । टी-ट्वान्टी फर्म्याटमा जारी प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् ।
सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।