काठमाडौं । महिला साफ च्याम्पियनसिपको टिकट र प्रशारण अधिकार ६५ लाखमा बिक्री भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को खुल्ला टेन्डर अनुसार महिला साफको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाख ३८ हजारमा बिक्री भएको हो ।
भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसले टिकट र मार्केटिङ सहितको ब्रोडकास्टिङ राईट्स ६५ लाख रुपैयाँ भन्दा बढी मूल्यमा लिएको हो ।
एन्फाका एक पदाधिकारीले भारतीय कम्पनीले महिला साफको सम्पुर्ण कमर्सियल अधिकार प्राप्त गरेको खेलपाटीलाई बताएका छन् । जस अनुसार करिब २९ लाख रुपैयाँ टिकट र बाँकी रकम मार्केटिङ सहितको ब्रोडकास्टिङ अन्तर्गत आएको हो ।
एन्फाले पनि मंगलबार हन्ड्रेड स्पोर्टससँग टिकट र प्रशारण अधिकारको सम्झौता भएको जानकारी गराएको छ ।
एन्फाका महासचिव किरण राई र हन्ड्रेड स्पोर्ट्सका फाउण्डर रविन्द्र भाटीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एन्फाले दोस्रो पटक टेण्डर मार्फत टिकट, मार्केटिङ र ब्रोडकास्टिङको अधिकार बेचेको हो ।
महिला साफ प्रतियोगिता काठमाडौंमा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुदैछ । आयोजक नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समुह बीमा भुटान र श्रीलंका छन् । समूह एमा भारत, माल्दिभ्स, पाकिस्तान र बंगलादेश छन् ।