काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज मंगलबार एक खेल हुदैछ ।
मंगलबार हुने खेलमा समूह 'बी' मा रहेका बंगलादेश र अफगानिस्तान प्रतिस्पर्धा गर्ने छन् । सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
अफगानिस्तान आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अफगानिस्तानले पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएर सुखद सुरुआत गरिसकेको छ ।
पहिलो खेल खेलिरहेको बंगलादेश पनि जित निकाल्दै प्रतियोगितामा सुरुआत गर्न चाहन्छ ।
पछिल्लो पाँच खेलमा दुवै टोली २/२ खेलमा विजयी भएका छन् । एक खेल वर्षाका कारण नतिजा विहीन भएको थियो । अन्तिम भेटमा अफगानिस्तानले ८ विकेटको जित निकालेको थियो ।
प्रतियोगितामा ६ टोली सहभागी छन् ।
समूह 'ए' मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।
समूह 'बी' मा अफगानिस्तान,बंगलादेश तथा श्रीलंका रहेका छन् ।
टी-ट्वान्टी फर्म्याटमा जारी प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।