काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याईएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै विश्वकप ट्रफी नेपाल आईपुगेको जानकारी गराएको छ ।
क्यानका जेनेरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी भोलि मंगलबारबाट गरिने जानकारी गराए ।
खनालले ट्रफी पर्सी बुधबार भक्तपुर दरबारस्क्वारमा ११:३० बजेबाट प्रदर्शनीमा राखिने बताए ।
त्यस्तै ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने छ ।
बिहान ७:३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ ।
ट्रफी टुरमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनेछन् ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो ।
टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याईएको हो । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ।
विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ ।
विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो ।
अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।