काठमाडौं । घरेलु टोली केन्याले चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो ।
केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए ।
यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए ।
आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
आज नेपाल जित निकाल्दै एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा रहेको छ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।
पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।
त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।