काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।
केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो।
नेपालले टी-ट्वान्टी अन्तराष्ट्रियमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।
यसअघि नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल १ सय ५२ रन थियो । नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध उक्त जित निकालेको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच चुनिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए ।

रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।
आरिफ शेख ४ रनमा अविजित रहदा करण केसी सुन्य रनमा अविजित रहे ।
केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।
पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।
कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ ।
यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
अब नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी खेल भोलि सोमबार हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।