काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सहज जित निकालेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।
केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे ।
ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए ।
रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए । आदील अन्सारी २ रनमा अविजित रहे ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।
यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए ।
राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए ।
नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।
आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
जितसँगै पाँच खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ ।
यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् । नेपालका सोमपाल प्लेयर अफ द म्याच बने ।

अब नेपालले भोलि शुक्रबार दोस्रो टी-ट्वान्टी खेल खेल्नेछ ।
त्यस्तै नेपालले तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
