काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड यस वर्ष भाद्र २४ गते हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीप्यानले अवार्ड कार्यक्रमको मिति तय गरेको हो ।
भाद्र २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सीप्यानले जनाएको छ । अवार्ड कार्यक्रमको मुख्य प्रायोजक शिक्षा संस्था एनसीसीएस ग्रुप रहेको छ ।
आयोजकले यस वर्ष विभिन्न ५ विधामा अवार्ड वितरण गरिने जनाएको छ । यस वर्ष वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरि ५ विधामा पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्ड सहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिईयो ।
प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिने सीप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिएका छन् ।
कोभिडका कारण गत वर्ष अवार्ड कार्यक्रम हुन पाएको थिएन । कोभिडपछि अहिलेसम्मको क्षणलाई मुल्याङ्कन गरेर वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सीप्यानले जनाएको छ ।
अवार्ड विजेताको नाम छनोट गर्नका लागि ५ जनाको प्राविधिक कमिटि गठन गरिने बताईएको छ ।