काठमाडौं । बागमती प्रदेश सरकार आफ्नो खेलकुद नीतिको तयारीमा जुटेको छ । प्रदेश सरकारले खेलकुद नीतिको प्रारम्भिक मस्यौदा तयार गर्न समिति गठन गरेर अघि बढेको हो ।
प्रारम्भिक मस्यौदा निर्माणका लागि प्रदेश सरकारले खेल बिज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बिज्ञ समिति गठन गरेको छ ।
समितिको सदस्यमा डा. अच्युत लामिछाने, श्रीराम भण्डारी, एलिसा थापा र देवनारायण चौधरी रहेका छन् । सो समितिले ३ महिना भित्र अन्तिम मस्यौदा तयार गरि प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशलाई हस्तान्तरण गर्ने बताईएको छ । सो मस्यौदालाई परिषद्ले प्रदेश भित्रका खेलाडी तथा सरोकारवाला ब्यक्तिसँग बृहत छलफल गरेर मन्त्रालयमा पेश गरिनेछ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश खेलकुदको योजनाबद्ध विकासका लागि प्रदेश सरकार खेलकुद नीति बनाउने काममा अग्रसर भएको बताए ।
उनले खेलकुद नीतिमा प्रदेश सरकारले आगामी दिनमा गर्ने खेलकुद बिकास सम्बन्धी सम्पुर्ण कार्यक्रमहरुको मार्गदर्शन गर्ने उल्लेख गरे ।
‘प्रदेशको खेलकुदको स्तरलाइ कति बर्षमा कुन स्तरमा पुर्याउने र त्यसको लागि कस्तो संरचनागत बिकास र जनशक्ति बिकासको कार्यक्रम ल्याउने भन्ने कुरालाइ खेलकुद नितिले निर्देशित गर्नेछ ।’ उनले भने ।
केन्द्र सरकारले समेत हालसम्म आफ्नो खेलकुद नीति बनाउन सकेको छैन । संघीय मन्त्रालय खेलकुद नीतिको प्रस्तावित मस्यौदाको अध्ययनकै क्रममा रहेको छ । तर बागमती प्रदेश सरकारले समितिनै गठन गरेर प्रारम्भिक मस्यौदा निर्माणमा जुटेको हो ।
राज्यको खेलकुद नीति नहुँदा नेपालको खेलकुदमा योजनाबद्ध विकास र नतिजा आउन सकेको छैन ।