काठमाडौं । हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ ।
बुधबार राति भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहदै एसिया कपका लागि छनोट भएको हो ।
एसिया कपमा स्थान बनाउन जित्नै पर्ने खेलमा हङकङले यूएईलाई ८ विकेटले पराजित गर्यो । जितसँगै हङकङले ३ खेलमा ६ अंक जोड्यो ।
युएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान निजाकत खानले ३९ रन जोड्दा बाबर हायतले अविजित ३८ रन बनाए ।
युएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।
युएईका लागि कप्तान रिजवानले ४९ रन जोड्दा जवार फारिदले ४१ रन बनाए ।
हङकङका इशान खानले ४ तथा आयुस शुक्लाले ३ विकेट लिए ।
एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । हङकङ समूह 'ए' मा रहेको छ । समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र हङकङ रहेका छन् ।
हङकङको पहिलो खेल अगस्ट ३१ मा भारतविरुद्ध रहेको छ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।