काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार घरेलु टोलीसँग पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । घरेलु टोली र नेपालबीच खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।
पाँच खेलको टी-ट्वान्टी सिरिका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा हुनेछ ।
नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताए ।
केन्या नेपालका लागि सहज प्रतिद्वन्दी समेत हो । यस अघिको दुई भेटमा नेपालले केन्यालाई हराएको छ ।
तर, केन्या पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए ।
यस खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।
पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी-ट्वान्टी भदौ १० गते , तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।