काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी-ट्वान्टी सिरिज निर्धारित तालिका अनुसार नै हुने भएको छ ।
भिसा समस्याको कारण नेपालका पूर्ण टोली केन्या नपुग्दा पहिलो टी-ट्वान्टी निर्धारित तालिकामा हुने आशंका गरिएको थियो ।
तर, नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले टी-ट्वान्टी सिरिजको खेलहरु निर्धारित तालिका अनुसार नै जानकारी गराए ।
'नेपाली खेलाडी पुरै नपुगेकाले केहीमा खेल नहुने आशंका रहेको थियो । म सबैलाई स्पष्ट पार्न चाहन्छु कि खेल तालिकामा केही परिर्वतन हुन्न,' मल्लले भने ।
पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल भोलि बिहीबार हुने तालिका रहेको छ ।
भिसा समस्याका कारण ५ खेलाडी केन्या जान पाएका थिएनन् ।
यद्दपी कप्तान सन्दीप लामिछाने सहितका ११ जना खेलाडी भने केन्या पुगिसकेका छन् ।
कार्यबाहक सचिव मल्लले थप दुई खेलाडी सोमपाल कामी र विवेक यादवको भिसा आएर उनीहरु केन्या प्रस्थान गरिसकेको जानकारी समेत गराए ।
'सोमपाल र विवेक साढे ११ मा त्यसतर्फ प्रस्थान गरिसके,' मल्लले खेलपाटीसँग भने 'अन्यका लागि प्रकृया जारी रहेको छ । केन्याबाट प्रकृया नपुगेका कारण भिसा स्विकृत भएर आएको थिएन । अहिले हामीले सबै प्रकृया पुर्याएर पुन स्विकृतीका लागि पठाएकोमा दुई जनाको टिकट सहित स्विकृती आयो ।'
नेपाली टोलीका व्यवस्थापक सुनील महासेठ पनि भिसा आएपछि केन्या प्रस्थान गरेको मल्लले बताए ।
नेपाली टोलीका ट्रेनर अब्दुल सतार, बसिर अहमद, शाहब आलम र आदिल अलामको भिसा आउन बाँकी रहेको छ ।
नेपालले घरेलु टोली केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजपछि ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।
केन्या पुगेका ११ खेलाडी :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद , पवन सरार्फ र किशोर महतो
केन्या पुग्न बाँकी खेलाडी :
आदिल अन्सारी, सोमपाल कामी, बसिर अहमद, साहब आलम र विवेक यादव