काठमाडौं । तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बताईएको छ ।
संघका अध्यक्ष प्रकाश शम्शेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको यसअघिका दुई वटा संस्करण सन् २०११ र सन् २०१४ मा काठमाडौंमा भएका थिए । संघका अध्यक्ष राणाले १३ औं दक्षिण एसियाली खेलकुद, कोभिड १९ को प्रकोप र प्राविधिक कारणले प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताएका थिए ।
संघका अनुसार यस प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्विकृति प्रदान गरेको छ । प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य, विश्व तेक्वान्दो महासंघका अध्यक्ष सहित पदाधिकारीहरु गरेर दुई हजार जनाको उपस्थिती रहने छ । प्रतियोगितामा आयोजक, स्वयंसेवक र प्राविधिक रुपमा करिब ३ सय जना सहभागी हुने संघले जनाएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको पूर्व तयारी र व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल आयोजक समिति र १६ वटा उपसमिति गठन गरिएको बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा सहभागीताका लागि प्रारम्भिक रुपमा भाद्र ९ गतेदखि भाद्र २७ गतेसम्म दर्ताको समय निर्धारण गरिएको छ । हालसम्म ११ देशका ८ सय ११ जनाको सहभागीता रहने र प्रतियोगितामा १ हजार भन्दा बढी सहभागी हुने तेक्वान्दो संघले अपेक्षा गरेको छ ।
नेपालको गौरव अभिवृद्धिसँगै खेलकुदमार्फत गण्डकी प्रदेशलाई खेलकुदको शहरको रुपमा स्थापित गर्न तथा कोभिड १९ का कारण प्रभावित नेपालको पर्यटनलाई प्रबद्र्धन गर्न प्रतियोगिताले फाइदा पुग्ने संघका अध्यक्ष समेत रहेका मुल आयोजक समितिका अध्यक्ष प्रकाश सम्शेर राणाले जानकारी दिएका छन् ।