काठमाडौं । लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट भदौ १९ गतेभित्र सक्ने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकास भट्टराईले जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै जिल्ला छनोट भदौ १९ गतेभित्र सक्न निर्देशन दिएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुदैछ । प्रदेश खेलकुदले खेलकुद निर्देशिका अनुसार जिल्ला छनोट सम्पन्न गरि प्रदेश स्तरीय छनोटका लागि सक्कल फाइल उपलब्ध गराउन प्रदेश खेलकुद परिषद्ले निर्देशन जारी गरेको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशबाट बजेट बिनियोजन नभएको उल्लेख गर्दै प्रक्रियामा रहेको बजेट बिनियोजन हुन साथ उपलब्ध गराईने समेत उल्लेख गरेको छ ।
नवौंको तयारीका लागि संघीय सरकारले सबै प्रदेशलाई ४९ लाख रुपैयाँ दिने बताएको छ । तर अधिकांश प्रदेश सरकारले तयारी रकम प्रदेशको बजेटमा नराख्दा खेलाडी छनोट गर्न प्रदेश खेलकुद परिषदलाई समस्या भैरहेको छ ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि अधिकांश प्रदेशमा जिल्ला छनोट धमाधम भैरहेको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेभित्र नाम दर्ता गर्न सहभागी प्रदेश तथा टिमलाई समय उपलब्ध गराएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुषको कोटा निर्धारण गरिएको छ । नवौंमा ३६ खेलका ४ सय ७ इभेन्टमा सहभागी टिमका खेलाडीबीच प्रतिस्पर्धा हुने बताईएको छ ।