काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीले चीनमा आउँदो वर्ष हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि ‘बाई–अप होल्डिङ कम्पनीसँग प्रायोजन सम्झौता गरेको छ ।
एनओसीले आसन्न एसियन गेम्सका लागि नेपाली खेलाडीका लागि खेल पोशाक कम्पनीसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।
एसियन गेम्स चीनको हाङचाउ शहरमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ ।
सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सीओओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बाई–अपले एसियाली खेलकुदमा सहभागी हुने सम्पूर्ण टिमका सदस्यलाई खेल पोशाक प्रदान गर्नेछ ।
खेल पोशाकमा ट्रायकसुट, टी–सर्ट, पोलो टी–सर्ट, स्पोर्टस सुज, सट्स, मोजा, टोपी, झोला र रुमाल रहेका छन् ।
सम्झौता अनुसार एसियाली खेलकुद सुरु हुन अघि ४ सय ५० थान खेल पोशक ‘बाई–अप’ले प्रदान गर्नेछ ।
कम्पनीले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदका बेला पनि खेल पोशाक प्रदान गरेको थियो ।
एनओसी महासचिव श्रेष्ठले प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमका खेलाडीलाई एकै ढाँचाको डिजाइन हुने बताए ।
उनले बाई–अप कम्पनीसँगको सम्झौता अबका वर्षमा पनि कायम हुने विश्वास व्यक्त गर्दै उच्च गुणस्तरको पोशाकको प्रायोजनले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने बताए ।
बाई–अपका सीओओ छ्यङ्गले एसियाली खेलकुदमा नेपाली खेलाडीलाई प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गर्दै एसियाली खेलकुदमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे ।