काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले केन्या भ्रमण खस्किएको नेपाली ब्याटिङको क्षमता परिक्षणको रुपमा रहने बताएका छन् ।
केन्या भ्रमणमा निस्कनु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइपछि कुरा गर्दै उपकप्तान रोहितले भ्रमणमा नेपाली ब्याटिङको स्तर जाँच हुने बताए ।
'यस टुर नेपालको ब्याटिङ कुन स्तरमा रहेको छ । त्यसको बारेमा जानकारी लिन महत्वपुर्ण रहन्छ,' रोहितले खेलपाटीसँग भने, 'नेपाली टोलीले मुख्य प्रतियोगिता अघि यस टुर गरेर ब्याटिङमा हामी कता रहेछौ भनेर जानकारी मिल्छ ।'
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज नै केन्या भ्रमणका लागि निस्किएको छ ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आगमनबाट टोलीले पछिल्लो समय गुमाएको अनुभवको परिपूर्ति हुने समेत उनले बताए ।
नेपालले ५ टीट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमणमा निस्किएको हो ।
रोहितले ३ खेलको एकदिवसीय खेलमा भने नेपालको कप्तानी गर्ने छन् । नियमित कप्तान सन्दीप लामिछाने ५ खेलको टीट्वान्टी सिरिज पश्चात क्यारेवियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज जाने छन् ।
यो रोहितको राष्ट्रिय टिमका लागि पहिलो कप्तानी अनुभव समेत रहने छ ।
कप्तानको भुमिकामा रहँदा टिमको लागि आफुले दिने योगदानमा कमी नहुने पौडेलले बताए ।
'केन्याको फरक वातावरणमा सबै जना पहिलो पटक खेल्न जादैछौ,' पौडेलले भने, 'यो भ्रमण नेपाली ब्याटरका लागि भने परिक्षणको विषय रहने छ ।'
टोलीको लागि आवश्यता परेमा आफु जुनसुकै स्थानमा ब्याटिङका लागि तयार रहेको उनले बताए ।