काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले केन्या भ्रमण टिमका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
केन्या भ्रमणमा निस्कनु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइमा बोल्दै कप्तान सन्दीपले नेपालको स्तर थाहा पाउन यस भ्रमण महत्वपूर्ण रहेको बताएका छन् ।
'केही नयाँ तथा केहि अनुभवी खेलाडीले समेत यस सिरिजमा मौका पाउनु भएको छ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न सबैजना आतुर रहेका छौ,' सन्दीपले भने, 'राम्रो नतिजा ल्याउने अपेक्षाका साथ हामी केन्या जादैछौ ।'
सन्दीपले ५ खेलको टी-ट्वान्टी सिरिज पश्चात आफु क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज जाने समेत बताए।
नेपालका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपालको वास्तविक क्षमता चिन्न आफुलाई यस भ्रमण राम्रो अवसर रहेको बताए ।
'टोलीमा रहेका सबै युवा खेलाडी राम्रो खेल देखाउन आतुर रहेका छन्,' प्रभाकरले भने, 'हामी राम्रो नतिजाका लागि खेल्छौ । टोली यसका लागि पुरा तयार रहेको छ ।'
नेपालले घरेलु टोली केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।
सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपाल र केन्याको खेल तालिका:
टी-ट्वान्टी -
- नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु।
- दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु ।
- तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु ।
- चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु ।
- पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु ।
एकदिवसीय -
- पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।
-दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु ।
-तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु ।
नेपाली टोली :
सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख, आरिफ शेख(विकेट किपर),दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद(विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव