काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाएका छन् ।
मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् ।
एन्फा महासचिव किरण राईले अलमुताइरीको पत्र प्राप्त भएको जानकारी दिए ।
महासचिव राईले अलमुताइरीको पत्रमा उल्लेख भएको विषय खुलाउन चाहेनन् । पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने राईले बताए ।
एन्फाले गत साउन अन्तिम साता छानविन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको थियो ।
गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।
उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।
प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।
एन्फाले साउन २६ गते अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव राईलाई दिएको थियो ।
एन्फाको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा राईलाई दिएको हो ।
छुट्टिमा रहेका अलमुताईरी हाल कतारमा रहेका छन् । आगामी असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन् ।
एन्फाले उनको अनुपस्थितिमा प्रदिप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।