काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा खेलाडी छनोटको मापदण्ड तयार गरेको छ । बागमतीले पहिलो बागमती प्रदेश खेलकुदमा समावेश मध्य ७ खेलका खेलाडीको प्रदेश छनोटको मापदण्ड तयार गरेको हो ।
बागमतीले प्रदेश खेलकुदमा समावेश मध्य भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलका खेलाडी छनोटको ६ वटा आधार बनाएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेशको बलियो टिम निर्माणका लागि मापदण्ड बनाएर खेलाडी छनोटको आधार तयार गरिएको बताउँछन् ।
उनका अनुसार प्रथम बागमती प्रदेश स्तरीय खेलकुदमा व्यक्तिगत स्पर्धामा पहिलो र दोस्रो स्थान हासिल गरेका खेलाडी तथा टिम स्पर्धामा छनोटमा परेका खेलाडीलाई प्रदेश छनोटको पहिलो आधार बनाईएको छ ।
त्यस्तै, दक्षिण एसियाली खेलकुद सागमा सहभागीता जनाएको, राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेको, राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेको, विभागीय टिमबाट करार भंग गरेर आउन चाहने खेलाडी र १९ औं एसियन गेम्सको बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रदेश छनोटमा समावेश गरिने आधार बनाईएको छ ।
मापदण्डमा आउने खेलाडीबाट छनोट गरेर प्रदेश टिम तयार गर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्को तयारी छ ।
बागमतीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने निर्णय गरिसकेको छ । राष्ट्रिय खेलकुदमा ३६ वटै खेलमा सहभागी हुने तयारी गरेको बागमतीले जिल्ला छनोट भदौ १० भित्र र प्रदेश छनोट २० गतेभित्र सक्ने बताएको छ ।