काठमाडौं । एमालेको युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल मनोनित भएका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रिय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो ।
लिलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघिनै सदस्यहरु मनोनित भएका थिए । शुक्रबारमात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनित गरिएको हो ।
नेपाल क्लाइमबिङ एसोसियसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशिल छन् । उनी यसअघि एमालेको नेपाल खेलकुद महासंघको केन्द्रिय महासचिव थिए ।
खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमालेले विभाग सचिवको जिम्मेवारी दिएको हो । नेपालमा मोटर स्पोर्टससँगै शाहसीक तथा पर्वतीय खेलमा पौडेलले काम गरेका छन् । उनी पर्वतीय खेलकुद महासंघका पूर्व कोषाध्यक्ष समेत हुन् ।
एमालेको खेलकुद नीति, नियम निमार्ण गर्ने निकाय खेलकुद विभागले पार्टी र सरकारमा खेलकुदको एजेण्डालाई लबिङ र स्थापित गर्ने काम गर्छ ।
विभाग सचिवमा मनोनित पौडेलले एमालेको खेलकुद नीतिलाई राज्यको आधारभुत खेलकुदको विकाससँग जोडेर काम गरिने बताए ।
‘खेलकुदलाई जसरी अतिरिक्त क्रियाकलापको रुपमा लिने गरिन्छ । अब यसलाई आधारभुत र प्राविधिक शिक्षाको रुपमा विकास गरेर खेलकुदमार्फत समाज परिवर्तनको नीति निर्माणमा काम गर्नेछु ।’ पौडेलले भने, ‘खेलकुदलाई उधोगको रुपमा विकास गरेर यसमार्फत रोजगार सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने नीति बनाउने काममा विभाग केन्द्रित हुनेछ ।’