काठमाडौं । एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।
छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ ।
प्रतियोगितामा सिंगापुर,युएई,हङकङ र कुबेत सहभागी हुनेछन् ।
सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ ।
एसिया कप अगस्ट २७ बाट यूएईमा सूरु हुदैछ । यहाँबाट छनोट हुने टोली समूह 'ए'मा रहेको छ । समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान रहेका छन् ।

प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।