काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सम्झौताबारे धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।
अलमुताइरीले मंगलबार साँझ सामाजिक संजाल फेसबुकबाट एन्फासँगको सम्झौताबारे विज्ञप्ति निकालेका हुन् ।
अलमुताइरीले आफुविरुद्ध गलत प्रचार भईरहेको र सम्झौता भएसम्म आफु नेपालको प्रशिक्षक रहने विज्ञप्ति जनाएका छन् । उनले सम्झौता पालना नभए फिफा र एएफसीमा जाने बताएका छन् ।
उनले एन्फाको स्रोतको नाममा आफ्नो झुटा समचार फैलाईरहेको उल्लेख गर्दै उक्त बदमासीविरुद्ध आफु फिफा र एएफसीमा जाने बताएका छन् ।
'म यस्ता निराधारको समचारको कडा आपत्ति जनाउछु । नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि मैले सधैं आफ्नो पूर्ण प्रयास प्रदान गरेको छु । मेरो सम्झौताको म्याद समाप्त नभएसम्म जारी राख्ने दृढ इच्छा छ,' विज्ञप्तिमा भनिएको छ, 'तर, एन्फामा केही स्रोतहरु छन् । मलाई कलंकित गर्न जानीजानी झुटा समाचारहरू फैलाउँदै छन् । यस्तो बदमासी सहने छैन र आवश्यक भएमा फिफा वा एएफसीमा जान म तयार छु ।'
अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो । तर, छुट्टिमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचारहरु प्रकाशित भएको थियो ।
प्रशिक्षक अलमुताइरीले एन्फाले स्पष्टीकरण सोधेको पत्र आफुले आज प्राप्त गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गरेका छन् ।
'सबैलाई यो पत्रबाट जानकारी गराउन चाहन्छु कि मलाई एन्फाले आज स्पष्टीकरण माग गरेको छ । मलाई जवाफ दिनको लागि कुनै समय सीमा तोकिएको छैन । मैले तुरुन्तै जेनेभामा रहेका मेरो वकिलसँग सल्लाह गरे । यसबाहेक, प्रशिक्षकबारेको फिफाको नियम एन्फाले पनि पालना गर्नुपर्छ । मैले छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठाएको छु । यद्दपी म मौन बसे,' विज्ञप्तिमा लेखिएको छ, 'म सबैलाई जानकारी गराउन चाहन्छु कि म पत्रको जवाफ मेरो वकिलबाट सल्लाह लिएपछि पठाउने छु ।'
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा विवादमा मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ । यस्तै प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।
प्रशिक्षक अलमुताइरीले आफुले बंगलादेशसँगको मैत्रीपूर्ण खेलबारे एन्फा महासचिवलाई पत्र लेखेको जनाएका छन् ।
उनले विभिन्न नेपाली सञ्चारमाध्यममा आफ्नोबारे गलत समचार आइरहेकोमा ध्यानाकर्षण भएको समेत जनाएका छन् ।
अलमुताइरीको विज्ञप्ति -