काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुने बताएका छन् । खेलपाटीसँग कुरा गर्दै महासचिव राईले नविन पाँडेलाई बर्खास्त गर्नुपर्ने कार्यसमिति सदस्यको माग एजेण्डाको रुपमा छलफल हुने बताएका हुन् ।
एन्फाका उपाध्यक्षद्धय दीपक खतिवडा र विराटजंग शाही सहित कार्यसमितिका ८ सदस्यले पाँडेलाई बर्खास्तीको माग गर्दै एन्फामा पत्र दर्ता गराएका थिए । सोही बर्खास्तीको पत्रलाई एजेण्डाको रुपमा आसन्न कार्यसमिति बैठकमा समावेश गर्नुपर्ने सो समुहको माग छ ।
एन्फाको कार्यसमिति बैठक साउन २६ गते काठमाडौंमा बस्दैछ । पटक पटक स्थगित हुदै आएको कार्यसमिति बैठकका लागि एन्फाले प्रारम्भिक ११ वटा एजेण्डामा उपाध्यक्षद्धय कुमार केसी र दीपक खतिवडा सहित सदस्य पेमा डोल्मा लामाले थप गरेका एजेण्डालाई आसन्न बैठकको छलफलको कार्यसुचिमा राखेको छ । तर उपाध्यक्षद्धय खतिवडा र शाही सहित ८ जना कार्यसमिति सदस्यले पाँडे बर्खास्तीको मागलाई आसन्न बैठकमा एजेण्डाको रुपमा राखेको छैन ।
‘अध्यक्ष छलफलमै हुनुहुन्छ । सबैसँग छलफल गरिरहनु भएको छ । पाँडे बर्खास्तीको विषयमा समेत बैठकमा छलफल हुन्छ । एजेण्डाको रुपमा नआएपनि अन्य शीर्षक अन्तरगत रहेर सो विषयमा छलफल हुन्छ ।’ महासचिव राईले भने ।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले शपथ ग्रहण लगत्तै आकस्मिक बैठक राखेर अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा पाँडेलाई नियुक्ति दिएका थिए । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक भएका कारण कुनै कार्यसमिति सदस्यले सो निर्णयको विरोध गरेनन् ।
तर एन्फामा पछिल्लो समय चलेको शक्ति संघर्षमा सोही निर्णयको प्रतिवादमा नेम्वाङ समुहकै अधिकांश पदाधिकारी र कार्यसमिति सदस्य लागेका छन् । आफ्नो प्यानलबाटै चुनाव जितेका अधिकांश पदाधिकारी पाँडे बर्खास्तीको माग सहित अघि बढेपछि अध्यक्ष नेम्वाङलाई आफ्नो पहिलो निर्णयकै बचाउ गर्न समस्या परिरहेको छ ।
स्वास्थ्यको कारण देखाउँदै नेम्वाङले एन्फाको एजेण्डा सहितको पहिलो बैठक टारेका थिए । दोस्रो पटक बोलाएको बैठकमा समेत आफु पक्षकै कार्यसमिति सदस्यले असहयोग गर्ने देखिएपछि छाडेर हिडेका थिए । तेस्रो पटक बेलाईएको बैठक अघि पनि पाँडे बर्खास्तीको माग उठेपछि अध्यक्ष नेम्वाङमाथि दबाब थपिएको छ ।