काठमाडौं । साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ ।
भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
पछिल्लो समय टिम बाहिर रहदै आएका पूर्व कप्तान विराट कोहली समेत टोलीमा अटाएका छन् ।
कोभिड १९ का कारण केही समय देखि टोली बाहिर रहेका केएल राहुल समेत टोलीमा फर्किएका छन्।
एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । भारत समूह 'ए' मा रहेको छ । समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।
युएईमा प्रतियोगिता रहे पनि आयोजक भने श्रीलंका नै रहेको छ ।
