काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।
शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३-१ ले जितेको हो ।
भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगाबै १ सय ३२ रनमा अलआउट भयो ।
उसका लागि कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए ।
सिम्रन हिटमायरले १९ तथा केली मेयर्सले १४ रन बनाए ।

भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए । अक्षर पटेल,रवि बिष्नोई तथा आभेस खानले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
उसका लागि ऋषभ पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहदै ३० रन बनाए ।

सुर्य कुमार यादवले २४ तथा दिपक होडाले २१ रन बनाए ।
घरेलु टोलीका लागि ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २/२ विकेट लिए ।
दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी- ट्वान्टी आइतबार हुनेछ ।