काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सकारात्मक सहयोग रहने बताएको छ । नवौं राष्ट्रिय खेलकुदको तयारी र समग्र पक्षबारे आयोगलाई जानकारी गराउन पुगेको प्रतियोगिताको मुल आयोजक समितिका पदाधिकारीलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रिय प्रतियोगिता भएकाले आयोगको साथ रहने बताएका छन् ।
सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको छ । त्यसको एक महिना अघि असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुदैछ । आयोगले निर्वाचनले ४५ दिन अघि आचार संहिता लागु गर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रिय खेलकुद निर्वाचनको बीचमा पर्ने भएकाले समग्र पक्षको जानकारी गराउन युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज, मन्त्रालयका सचिव दामोदर प्रसाद रेग्मी, राखेप सदस्य सचिव टंकलाल घिसिङ, प्रतियोगिताको कार्यकारी समितिका सदस्य सचिव फरिन्द्र पौडेल सहितका अधिकारी शुक्रबार निर्वाचन आयोग पुगेका थिए ।
छलफलमा मन्त्री गहतराजले सरकारको पूर्व निर्धारित कार्यक्रम भएकाले अवरोध नगर्नका लागि आयोग समक्ष आग्रह गरेका थिए । ‘सरकारले पहिल्यै निर्णय गरिसकेको कार्यक्रम हो । खेलको आफ्नै नियम र समय हुन्छ । पूर्व निर्धारित कार्यक्रम भएकाले आयोगले अवरोध नगर्ने विश्वास छ ।’ मन्त्री गहतराजको भनाई उद्धित गर्दै एक अधिकारीले भने ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय इभेन्ट भएका कारण राजनीति प्रभाव नपर्ने हिसाबले प्रतियोगिता सञ्चालन गर्न आग्रह गरे । उनले राष्ट्रिय पर्वको रुपमा रहेको राष्ट्रिय प्रतियोगितामा सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । थपलियाले नवौं राष्ट्रिय खेलकुद सञ्चालनमा आयोगले अवरोध नगर्ने पनि बताएका छन् ।
खेलकुद मन्त्रालयका सचिव रेग्मीले प्रतियोगिताको तयारी र सञ्चालन अनुमतीको पत्र निर्वाचन आयोगमा बुझाएको खेलपाटीलाई बताए । ‘समयमै प्रतियोगिता सम्पन्न गर्नका लागि निर्वाचन आयोगमा पत्र बुझाएका छौं । आयोगको बैठक बसेर निर्णय दिने विश्वास छ ।’ उनले भने ।