काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेशमा असोजको अन्तिम साता सुरु हुने प्रतियोगितामा ३ सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा हुने टुङ्गो लागेको हो ।
नवौंको कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले नवौंको लागि पदक संख्या टुङ्गो लागेको खेलपाटीलाई बताए । पौडेलका अनुसार सहभागी टिमले ३ सय ९३ स्वर्ण, सोही संख्यामा रजत पदक र ६ सय १ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘प्रतियोगिताको प्राविधिक समितिले सरोकारवालासँग छलफल गरेर निकालेको तथ्याङ्गको आधारमा पदक संख्याको टुङ्गो लागेको हो ।’ पौडेलले खेलपाटीसँग भने ।
राखेपको पछिल्लो बोर्ड बैठकले ४ सय ७ खेल इभेन्ट्स समावेश गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रत्येक टिमलाई ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा समेत निर्धारण गर्ने निर्णय भएको थियो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा ३६ खेलका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुदैछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक एनआरएन टिमले सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा सर्वाधिक पदक जित्ने टिमले नवौं राष्ट्रिय खेलकुदको उपाधि जित्नेछ ।
राखेपले भदौ १५ गतेभित्र खेलाडी संख्या र २५ गतेभित्र नाम दर्ता गराईसक्न सहभागी टिमलाई पत्राचार गरिसकेको छ ।