काठमाडौं । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले निर्धारित मितिमै जिल्ला र प्रदेश खेलाडीको छनोट सक्ने बताएका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि समग्र प्रदेशको तयारी अघि बढाएका लुम्बिनी प्रदेश खेलकुदका सदस्य सचिव भट्टराईले केही दिनमै जिल्ला र प्रदेश छनोटको मिति घोषणा हुने बताएका छन् ।
‘प्रदेश अन्तर्गतका जिल्ला खेलकुद विकास समितिलाई खेल, खेल इभेन्ट्स र सहभागिताका लागि पत्राचार भैसकेको छ । धेरै जिल्लाबाट माग अनुसारको पत्र समेत प्राप्त गरिसकेका छौं ।’ भट्टराईले खेलपाटीसँग भने, ‘राखेपको बोर्ड बैठकले निर्धारण गरेको संशोधित मितिमै जिल्ला र प्रदेशको छनोट सक्छौं ।’
राखेपको पछिल्लो बोर्ड बैठकले भदौ १५ सम्म खेलाडी संख्या र २५ गतेसम्म खेलाडीको नाम दर्ता गराईसक्न समय निर्धारण गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज २८ गते कात्तिक ३ गतेसम्म सञ्चालन हुदैछ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीले आफु अन्तरगतका १२ जिल्लालाई पत्र लेखेर खेल, खेल इभेन्ट्स, खेलाडी संख्या, प्रशिक्षकको आवश्यकता र उपलब्धता समेत खुलाएर यथाशिघ्र कार्यालयमा विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले खेलाडी दर्ताकोे फारम तयार गरेर हरेक जिल्लामा पठाईसकेको छ ।
राखेपले लुम्बिनी सहितका सातै प्रदेश खेलकुद परिषद्लाई ३६ खेलका ४ सय ७ इभेन्ट्सका लागि ७ सय ८ खेलाडीको कोटा दिएको छ । प्राप्त इभेन्ट्सका आधारमा प्रदेश खेलकुदले खेलाडीको संख्या र नाम राखेपलाई उपलब्ध गराउनुपर्नेछ ।
सदस्य सचिव भट्टराईले जिल्ला र प्रदेश छनोटका लागि बजेटको अभाव भएको बताए । ‘बोर्ड बैठकमा समेत यही कुरा राखेको थिए । प्रदेश सरकारले नवौंको तयारीका लागि बजेट छुट्टाएको छैन । केन्द्रले दिने ४९ लाख रुपैयाँले पुग्दैन । बजेट व्यवस्थापनका लागि अहिले दौडधुप भैरहेको छ ।’ उनले भने ।
सदस्य सचिव भट्टराईले बजेटको व्यवस्थापन भएसँगै प्रदेश र जिल्ला छनोटको मिति तोकेर अघि बढ्ने बताए । ‘एक, दुई दिनमै जिल्ला र प्रदेश छनोटको मिति घोषणा गछौं । केन्द्रले निर्धारण गरेको मितिमै खेलाडी दर्ताको प्रक्रिया पुरा गछौं ।’ उनले थपे ।
लुम्बिनी प्रदेशले हालै सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेर प्रदेश खेलकुदमा आफुलाई उत्कृष्ट साबित गरिसकेको छ ।