इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।
साउन २२ गतेदेखि सुरु हुने प्रतियोगितामा सुनसरी जिल्लाका विद्यालयले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए ।
पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।
पौडेलले प्रतियोगिता आयोजनाको मुख्य उदेश्यको रुपमा सुनसरी जिल्लामा विद्यालय स्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्नु रहेको बताए ।
उनले भने, 'यो प्रतियोगिता मात्र नभएर विद्यालय स्तरका खेलाडीको छनोट पनि हो । प्रतियोगिता नेपालकै दोस्रो इन्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ । प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समय साउन २० गतेसम्म रहेको छ ।'
