काठमाडौं । माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडी नगदसहित सम्मानित भएका छन् ।
प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको स्पर्धामा कास्य पदक विजेता राजु राई बुधबार सम्मानित भएका हुन् ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले व्यक्तिगत रुपमा रजत पदक विजेतालाई नगद १ लाख ५० हजार र कास्य पदक विजेतालाई नगद ७५ हजारले पुरस्कृत गरे ।
सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस संघका प्रथम उपाध्यक्ष श्री विजय लाल कायस्थले विजेता खेलाडीहरुलाई क्रमशः २० हजार र १० हजारले पुरस्कृत गरे ।
उक्त अवसरमा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेशनले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठलाई विश्व शारीरिक सुगठन फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित गरिएकोमा नेपालको शारीरिक सुगठन संघ एवं खेलको अझ उचाई बढेको महशुस गर्दै विश्व फेडेरेशनका अध्यक्ष दातुक पौल चुवालाई दक्ष एव योग्य व्यक्तिलाई उक्त पदमा मनोनित गरिएकोमा हार्दिक धन्यवाद ज्ञापन समेत गरियो।
नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ र नेपाल एक न्यूट्रल भेन्यू भएकोले एशियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने बारे समेत जानकारी गराइयो ।