काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज आइतबार बस्दैछ ।
नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा बिहान ११:१५ बजेपछि राखेपको बोर्ड बैठक सुरु हुनेछ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक बोलाएका हुन् ।
बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा बैठक बस्न लागेको हो ।
नयाँ आर्थिक वर्ष सुरु हुदै गर्दा मन्त्रालयले वार्षिक कार्य योजना सहितको छलफल गर्न बोर्ड बैठक बोलाएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनमै परिषदको काम, कर्तव्य र अधिकारमै बोर्ड बैठकले वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने उल्लेख छ ।
यस्तै असोजमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा समेत बैठकमा छलफल हुने परिषद्का एक बोर्ड सदस्यले खेलपाटीलाई बताए ।
युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विषयगत उपसमिति बनाएर तयारी अघि बढाएको छ ।
प्रतियोगिताको तयारी स्वरुप खेल सामाग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ भने जिम्मेवारी पाएका विभिन्न उपसमितिका संयोजकले तयारीको कामलाई अघि बढाएका छन् ।