काठमाडौं । किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो ।
अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ हजार रुपैयाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार ५ सयको गी र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिक वापत ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । श्रृजनशीलको भाडा वापत ६० हजार रुपैयाँ पनि हस्तान्तरण गरियो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाललगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरे । विगतमा पनि लाउरेन्टले श्रृजनशीललाई सहयोग गरेका थिए ।
कार्यक्रममा अध्यक्ष थापाले संस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।