काठमाडौं । फर्मुला वान इन स्कूल्स कार्यक्रम अन्तर्गत रहेको कार्ट्स रेसिङ प्रतियोगिताको उपाधि कोर्निभा महर्जनले जितेकी छिन् ।
हिमालयन मोटरल्याण्ड, धुलिखेलमा शनिबार बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले २४.२३ सेकेन्डमा ल्याप पूरा गरिन् । दोश्रो स्थानकी सुजाता शर्माले २५.०६ सेकेन्डमा ल्याप पूरा गरिन् ।
त्यस्तै २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेश्रो भइन् ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं इन्जिनीयरिङ कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भएको प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडी न्याथमको तर्फबाट भाग लिएका थिए ।
प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौं इन्जिनीयरिङ कलेज, कसमस कलेज र न्याथमका ३५ जना छात्रा विद्यार्थीले प्रतिस्पर्धा गरेको फर्मुला वान इन स्कूल्स नेपालका कोर्डिनेटर सुयोग खनालले जानकारी दिए ।
प्रतियोगिताको सुरुआतमा एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए ।