काठमाडौं । फुटबल प्रशिक्षक राजेन्द्र तामाङले एएफसीबाट लामो समय देखि नपाएको फुटबल प्रशिक्षकहरुको तलब निकासाको लागि पहल गरिदिन अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् ।
एन्फा अन्तर्गतको फुटबल प्रशिक्षक संघका अध्यक्ष समेत रहेका प्रशिक्षक तामाङले सामाजिक संजाल फेसबुकबाट तलब निकासाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
तामाङले एन्फा कार्यसमितिको बिहीबार बस्न लागेको बैठकमा यो बिषयलाई प्राथमिकताका साथ राखेर छलफल गरिदिन पनि अनुरोध गरेका छन् ।
उनले अघिल्लो एन्फा कार्यसमितिले एएफसीसँग सम्पर्क गर्न ढिलासुस्ती गरेको कारण आफुहरुको तलब एएफसीले रोक्का गरेर राखेको हुनसक्ने लेखेका छन् ।
तामाङका अनुसार प्रदेश र जिल्लाका प्रशिक्षक लगायत टेक्निकल हेड गरि लगभग ६५ जनाले सात महिना देखि तलब पाएका छैनन् ।
'चाँडो भन्दा चाँडो प्रशिक्षकहरुलाई उपलब्ध गराउनको लागि अग्रसर भई आगामी दिनमा विगतमा जस्तै नेपाली युवा, ग्रासरुट खेलाडी उत्पादन गर्ने गराउने गरी प्रशिक्षक ज्युहरुमा छुट्टै उर्जा मिल्ने खालको खुसी दिलाउनुस,' उनले लेखेका छन् ।