काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले एसियन गेम्समा पदक विजेता खेलाडीले प्राप्त गर्ने पुरस्कार राशी कानुनी रुपमा पास गराएर दिईने बताएका छन् ।
चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका बोल्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् ।
मन्त्री गहतराजले एसियन गेम्समा स्वर्ण पदक विजेतालाई ३२ लाख ५० हजार, रजत विजेतालाई १९ लाख ५० हजार र कास्य पदक विजेतालाई १३ लाख पुरस्कारबाट पुरस्कृत गरिने बताए । उक्त पुरस्कार राशी कानूनत रुपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यही अनुरुप प्राप्त गर्न सक्ने मन्त्री गहतराजले बताए ।
मन्त्री गहतराजले खेलाडीको मनोबल बढाउने उद्धेश्यले पुरस्कार सम्मान बढाउनेतर्फ मन्त्रालय अग्रसर रहेको र खेलाडीले आगामी दिनमा पदक हासिल गरेबापत कसैको निगाहबाट नभई कानूनी प्रावधान बनाएर पुरस्कार राशीको निर्धारण गरिने बताए ।
एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ ।
नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ ।