काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।
खेलकुद मन्त्री गहतराजले सोमबार बिहान मुलपानी रंगशालाको अनुगमन गरेका हुन् । रंगशालाको अनुगमन गर्दै मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् ।
आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्री गहतराजले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।
अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गर्दै उनीहरुको हौसला समेत बढाएका थिए ।