काठमाडौं । नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भईरहेको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन् ।
राजुले १७० सेमी सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेको टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए ।
२४ राष्ट्रका खेलाडी सहभागी सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन्।
यस अघि पनि नेपाली खेलाडीहरुले एशियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।
यस्तै सोहि प्रतियोगिताका दौरान शारिरीक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याए बापत विश्व शारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई विशिष्ट अवार्डले सम्मान गरेको समेत उपाध्यक्ष भण्डारीले जानकारी गराए ।
प्रतियोगतामा राजु सहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन त्यस तर्फ गएका छन् । सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायक एवं संघका बरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नानी काजी डङ्गोल र लक्ष्मण महत पनि मालदिभ्समा रहेका छन् ।
नेपालले २०२३ मा ५५ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।