काठमाडौं । चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को तयारी अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षण सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जेठ २५ गतेबाट संचालन गरेको पहिलो चरणको विशेष प्रशिक्षण शनिबारबाट सम्पन्न भएको हो ।
राखेपले गठन गरेको हाई परफरमेन्स कमिटिका सदस्य महेन्द्र राईले पहिलो चरणको ४० दिने विशेष प्रशिक्षण सकिएको र दोस्रो चरणको प्रशिक्षणको मिति गृहकार्य गरेर घोषणा गरिने बताए ।
'पहिलो चरणको विशेष प्रशिक्षण शनिबारबाट सकिएको छ । दोस्रो चरणको प्रशिक्षणको मिति टुंगो लागेको छैन । हामीलाई राखेपबाट निर्देशन गरेपछि सुरु गर्नेछौँ,' राईले भने ।
राखेपले एसियन गेम्समा सहभागी हुने सबै २३ खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा राखेको थियो ।
पहिलो चरणको विशेष प्रशिक्षणमा २३ खेलबाट ५ सय १४ खेलाडी सहभागी भएका थिए । जसमा २ सय ३० पुरुष र २ सय ८४ महिला खेलाडी सहभागी छन् । यस्तै प्रशिक्षणमा ६४ प्रशिक्षक सहभागी भएका थिए ।
राष्ट्रिय टोली तयारी समितिका संयोजक समेत रहेका राईले पहिलो चरणको प्रगति विवरण संकलन भईरहेको बताए ।
एसियन गेम्स भने अनिश्चितकालका लागि स्थगित भईसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन ।
तर, राखेपको हाइ पर्फमेन्स कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको थियो।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, महिला भलिबल,क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने छ ।