काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी एन्जेला तुम्बा शुब्बा स्पोर्टस ब्राण्ड लिनिङको ‘ब्राण्ड एमबेस्डर’ बनेकी छिन् । चाइना ट्रेड लिंक कम्पनीले चर्चित फुटबलर एन्जेलालाई लिनिङ ब्राण्डको एमबेस्डर बनाएको हो ।
फुटबल करियरसँगै एन्जेलाले आफ्नै बायोपिक चलचित्रमा अभियन यात्रा समेत सुरु गर्न लागेकी छिन् । चाँडै छ्याङकनमा जाने तयारी गरेको चलचित्रको केन्द्रिय पात्र एन्जेलासँग सहकार्य गर्दै लिनिङले एन्जेलालाई ब्राण्ड एमबेस्डर बनाएको हो ।
शुक्रबार एक कार्यक्रममा लिनिङ नेपालका प्रमुख राजिन महर्जन र एन्जेला तम्बापो शुब्बाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार चाइना ट्रेडिङ्गले स्पोर्टस सामान एन्जेलालाई उपलब्ध गराउनेछ । साथै करार अवधिभर केही छुट र सहुलियतमा लिनिङका सामाग्री एन्जेलाले प्राप्त गर्नेछिन् ।
सम्झौता अनुसार एन्जेलाको एटीएस १६ लोगो चाईना ट्रेडिङ्गलाई उपलब्ध गराईने र सो लोगो प्रयोग गरि कपडा पोशाक लगायत खेलकुद सामाग्री उत्पादन गर्ने अनुमती चाईना ट्रेडिङ्गले प्राप्त गर्नेछ । एन्जेलाको लोगो प्रयोग गरेर उत्पादन गरिएका सामान बिक्री पश्चात चाईना ट्रेडिङ्गले खुद नाफाको १० प्रतिशत मध्य ५ प्रतिशत एन्जेला र ५ प्रतिशत विभिन्न वर्गका खेलाडीलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौताको अवधि दुई वर्षको रहने सम्झौता पत्रमा बताईएको छ ।
फुटबल, ब्याडमिन्टन र टेबलटेनिसमा सहयोग र सहकार्य गर्दै आएको लिनिङ ब्राण्डले औपचारिक रुपमा फुटबल खेलाडीलाई नेपालको ब्राण्ड एमबास्डर बनाएको पहिलो पटक हो ।
फुटबलसँगै चलचित्रमार्फत अभिनयमा समेत देखिन थालेकी एन्जेलालाई लिनिङ नेपालसँगको पछिल्लो सहकार्यले सहयोग हुने विश्वास चाईना ट्रेडिङ्सले लिएको छ ।
खेलकुदमा सहयोग र सहकार्य गर्दै आएको हो । खेलाडीलाई जहिलेपनि सहयोग गर्न पाउँदा खुसी लाग्छ । एउटा राम्रो महिला फुटबल खेलाडीसँग ब्राण्ड एमबास्डर बनाउन पाउँदा खुसी महशुश गरेका छौं । लिनिङ नेपालका प्रमुख राजिन महर्जनले भने ।
एन्जेलाले लिनिङको ब्राण्ड एमबास्डर बन्न पाउँदा खुसी ब्यक्त गरिन् । उनले यस सहकार्यले आफ्नो करियरलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरेकी छिन् ।