काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ईस्पोर्टसका लागि महानगरले छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको बताएका छन् ।
मेयर बालेनले बिहीबार सामाजिक संजाल फेसबुकबाट ईस्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको बताएका हुन् ।
मेयर बालेनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको समेत बताएका छन् ।
'सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ,' बालेनले फेसबुकमार्फत लेखेका छन्, 'ईस्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन ।'
मेयर बालेनले आधुनिक विश्वमा ईस्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा रहेको र नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दै गएको जनाएका छन् ।
'यहि वर्ष हुने एसियाली खेलमा ईस्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो,' उनले भनेका छन् ।
उनले महानगरले छुट्याइएको बजेट कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले कार्यान्वयन हुने बताएका छन् ।
'कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन,' उनले भनेका छन् ।