काठमाडौं । काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरले ८ स्वर्ण र २ रजत हात पार्यो ।
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोमा पनि काठमाडौं टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र १ कांस्यसाथ काठमाडौं टिम च्याम्पियन बन्यो ।
प्रतियोगितामा १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ ललितपुर दोश्रो भयो । तेश्रो स्थानको काभ्रेले १–१ स्वर्ण, रजत र कांस्य हात पारे ।
कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा काभ्रेका किरण तामाङ तथा महिलामा ललितपुरकी समता जिरेल उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत आईओएफटीसीका निर्देशक दिवाकर महर्जन र तेक्वान्दोका प्रेम भुजेललाई प्रशंसा पत्रसहित सम्मान गरे ।