काठमाडौं । बाराको जीतपुर सिमरा उपमहागनरपालिकामा रहेको सिमरा रंगशालाको फ्लड लाइटको स्तरोन्नती गरिएको छ । सुर्य नेपाल प्राली सिमराको सहयोगमा रंगशालामा रहेको फ्लड लाइटको स्तारोन्नती गरिएको हो । सुर्य नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ७२ लाख रुपैयाँको सहयोगमा फ्लड लाइटको क्षमता अभिवृद्धिको काम अघि बढेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिकाको सहयोगमा २०७७ सालमा फ्लड लाइट राख्ने काम अघि बढेको थियो । सुरुवातमा उपमहानगरको २५ र नवजनजागृती युवा क्लबको १७ लाख रुपैयाँको सहयोगमा फ्लड लाइट राख्ने कामको थालनी भएको थियो । सोही लाइटमा ११ औं संस्करणको जीतपुर सिमरा गोल्डकप फुटबल सञ्चालन भएको थियो । अर्को वर्ष १६ वटा बत्ति थपेर आयोजक नव जनजागृति युवा क्लबले १२ औं संस्करणको गोल्डकप फुटबल सम्पन्न गरेको थियो ।
डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अन्तर्गत रंगशालालाई मध्यभागमा पारेर फ्लड लाइट राख्न सुरु गरिएको छ । यसमा सुर्य नेपाल प्रालीले ७२ लाख रुपैयाँको सहयोग गरेको छ ।
‘रंगशालालाई सेन्टर हुने गरि डीपीआर अन्तर्गत मैदानको ठाउँ पनि सारिरहेका छौं । स्थानान्तरण र स्तोरोन्नती काम एकसाथ भैरहेको छ ।’ नव जनजागृति युवा क्लबका महासचिव सम्भु सिंह ठकुरीले खेलपाटीसँग भने । ‘डीपीआर अनुसार स्थानान्तरणको काम अघि बढेको छ । मैदान रंगशालाको उत्तरपट्टी थियो । त्यसलाई दक्षिण पट्टी सार्न लागिएको हो ।’ ठकुरीले थपे ।
सुरुवातमा मैदानमा रहेको फ्लड लाइटको क्षमता साढे ३ सय लक्स रहेको थियो । अब स्तरोन्नती भएपछि ५ सय लक्स उज्यालो थपिने जडानमा संलग्न प्राविधिकले बताएका छन् । ‘प्रचण्ड घाममा खेलाडीलाई खेल्न गाह्रो थियो । साँझको समयमा खेल गराउदा खेलाडीलाई राहत हुने गरेको छ ।’ ठकुरीले भने, ‘साँझमा लाइटमा खेल भयो भने यस क्षेत्रमा दर्शकको संख्या पनि बढ्ने रहेछ । औधोगिक क्षेत्र भएकाले अन्य दर्शकलाई पनि साँझको समयमा खेल हेर्न सजिलो हुन्छ ।’
फ्लड लाइट स्तरोन्नतीको काम असारको पहिलो साताबाट सुरु भएको हो । यस महिनाको मसान्तसम्म स्तरोन्नतीको काम सक्ने तयारी छ । ‘वर्षाले काम गर्न ढिलाई भैरहेको छ । तर असारको मसान्तभित्र काम सक्ने लक्ष्य हो ।’ ठकुरी भन्छन् ।
रंगशालाको प्यारापिट निर्माणका लागि सरकारले नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ । करिब आधामात्र निर्माणको काम सकिएको भीआइपी प्यारापिटलाई नयाँ आर्थिक वर्षमा पूर्णता दिने तयारी छ । रंगशाला रहेको जमिन करिब १४ बिगाहामा फैलिएको छ । सोही जमिनमा कभर्डहल निर्माणको योजना छ । सो जग्गामा कभर्डहल निर्माणका लागि करिब १६ करोड रुपैयाँ लागतको डीपीआर समेत तयारी अवस्थामा छ । तर स्रोतको व्यवस्थापन हुन सकेको छैन ।
‘रंगशाला रहेको १४ बिगाहा जमीनमा कभर्डहल बनाउने योजना हो । डीपीआर समेत तयारी अवस्थामा छ ।’ महासचिव ठकुरी भन्छन्, ‘सुर्य नेपालले जसरी फ्लड लाइट निर्मांणमा सहयोग गरेको छ । नीजि क्षेत्रको स्रोतबाट इन्डोर खेलका लागि केही पूर्वाधार निर्माण हुने अपेक्षा गरेका छौं ।’
‘जितपुर सिमरा उपमहानगरपालिकामा फुटबल मात्र नभएर अन्य इन्डोर गेम गर्न सकिन्छ कि भनेर अघि बढेका छौं । रंगशाला र अब बन्ने कभर्ड हलले मधेश प्रदेशमा आगामी दिनमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पनि सहयोग पुग्ने अपेक्षा छ ।’ ठकुरीले थपे ।