काठमाडौं । नेपाल बुद्धिचाल संघको चुनावी साधारण सभा काठमाडौंमा सुरु भएको छ । कोभिडको प्रभाव र खेलकुद ऐनका कारण स्थगित हुदै आएको संघको चुनावी साधारण सभाको शुक्रबार उद्घाटन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य सुबास श्रेष्ठले साधारण सभाको उद्घाटन गरे । उनले बुद्धिचाल संघको साधारण सभाले अन्य संघलाई समेत प्रेरित गर्ने बताए ।
'खेलकुद ऐनका कारण धेरै संघको निर्वाचन रोकिएको अवस्था छ । यस संघको निर्वाचनले तदर्थबादमा चलेका अन्य संघलाई समेत निर्वाचत गराउन प्रेरित गर्छ ।' उनले भने ।
नयाँ नेतृत्व चयनका लागि संघको साधारण सभा शुक्रबार सुरु भएको हो । निर्वाचनमार्फत शनिबार संघले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भैरहेकोे छ ।
संघका वरिष्ठ उपाध्यक्ष विधुर प्रसाद गौतमले नेतृत्वमा औपचारिक दाबी गरेका छन् । संघको अघिल्लो चुनावी साधारण सभा २०७३ साल चैत १३ गते भएको थियो । दुई वर्षअघि हुनुपर्ने संघको साधारण सभा कोभिड र खेलकुद ऐनको अन्यौलताका कारण सम्भव हुन सकेको थिएन ।