काठमाडौं । राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बन्ने टोलीका लागि १० लाख रुपैयाँको आकर्षक ट्रफी तयार गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठन गरिएको मुल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टिमलाई प्रदान गर्न १० लाख रुपैयाँको आकर्षण ट्रफी बनाउने निर्णय गरेको हो ।
‘राष्ट्रिय प्रतियोगिता भन्ने बित्तिकै राष्ट्रिय गौरवको प्रतियोगिता हो । राष्ट्रिय गौरवको प्रतियोगिताको विजेतालाई सोही अनुसारको आकर्षण ट्रफी दिने निर्णय भएको छ । ट्रफीका लागि करिब १० लाख रुपैयाँ खर्च गरिनेछ ।’ मन्त्रालयका एक अधिकारीले भने ।
यसअघि विजेता टिमलाई सामान्य ट्रफी र विजेतालाई खेलाडीलाई मेडल प्रदान गर्ने प्रचलन रहेको थियो । गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता टिमले अब १० लाख रुपैयाँको आकर्षण ट्रफी प्राप्त गर्नेछ । यस्तै, विजेताले प्राप्त गर्ने आकर्षण ट्रफीलाई प्रतियोगिता अघि सातै प्रदेश र तीन विभागमा भ्रमण गराईने र लगातार तीन पटक विजेता बन्ने टिमलाई सो ट्रफी स्थायी रुपमा राख्न दिने निर्णय बैठकले गरेको छ ।
राष्ट्रिय प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए टिम सहित ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सर्वाधिक स्वर्ण पदक विजेता टिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि उचाल्ने छ । सोही टिमलाई प्रदान गरिने नयाँ ट्रफी सरकारले बनाउने भएको हो ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुदैछ ।