काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको संयोजोकत्वमा कार्यकारी समिति गठन गरिएको छ ।
शुक्रबार बसेको मुल आयोजक समितिको बैठकले राखेप सदस्य सचिव घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ अनुसार प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि परिषद्का सदस्य सचिवका संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने उल्लेख छ । सोही निर्देशिका अनुसार प्रतियोगिताको मुल आयोजक समितिको बैठकले घिसिङको नेतृत्वमा कार्यकारी समिति गठनको निर्णय गरेको हो ।
समितिको सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल आयोजना हुने प्रदेशको प्रदेश खेलकुदको प्रशासकीय प्रमुख, परिषद्का सदस्य मध्यबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा एक जना महिला सहित दुई जना, परिषद्का विभागीय प्रमुखहरु र संयोजकले तोकको परिषद्को कर्मचारी समितिको सदस्य सचिव हुनेछन् ।
बैठकले आवश्यकता अनुसार निर्देशिकामा रहेका १४ वटा विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ ।
गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार मुल आयोजक समितिको बैठक राखेका थिए ।
बैठकले नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।