काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने बताएका छन् ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटी बैठकको उद्घाटनमा बोल्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा भव्य रुपमा आयोजना हुने बताएका हुन् ।
'कोभिडको कारण यो प्रतियोगिता लामो समयबाट रोकिएको छ । कोभिड बाहेक अन्य कारण छैन,' मन्त्री गहतराजले भने, 'प्रतियोगिता निर्धारित समयमा हुनेछ । भव्य रुपमा हुनेछ ।'
जमलस्थित एल्लो प्यागोडामा होटलमा नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक बसिरहेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ ।
यस अघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो । तर, स्थानीय चुनाव, सार्वजनिक खरिद ऐन, विद्यार्थीको परिक्षा, वर्षाको मौसम र आवश्यक तयारी नपुग्ने लगायतका विभिन्न कारण देखाउँदे प्रतियोगिता सारिएको हो ।
मन्त्री गहतराजले प्रतियोगिता निर्धारित मितिमा गर्दै खेलाडीलाई खुशी दिने बताए ।
'यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता संचालन गर्ने छौ । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिनेछ,' मन्त्री गहतराजले थपे ।
यस्तै मन्त्री गहतराजले भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए ।