काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक सुरु भएको छ ।
जमलस्थित एल्लो प्यागोडामा होटलमा नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक सुरु भएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक आह्वान गरेका हुन् ।
बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्य सचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
बैठकबाट कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गरेर नवौंको आयोजनामा जुट्ने योजना रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर कोभिडका कारण समयमै प्रतियोगिता नभएको हो ।
बैठकको उद्घाटनमा बोल्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा भव्य रुपमा आयोजना हुने बताए ।