काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रम उपत्यकाका ३ सहित २१ जिल्लामा सञ्चालन गरिने छ । काठमाडौं, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुंगा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
प्रशिक्षार्थीहरुलाई नेपाल केआईएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम दिने छन् । फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ ।
राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरुले मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिने छन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।