काठमाडौं । नेपालका ओलम्पियन खेलाडीलाई नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले निशुल्क उपचार गर्ने भएको छ ।
ओलम्पियन खेलाडीको निशुल्क उपचारका लागि आइतबार नेपाल ओलम्पियन्स एसोसिएसन र नोबेल अस्पताल प्रालिबीच पाँच वर्षको सम्झौता भएको छ ।
एसोसियसनका अध्यक्ष दीपक विष्ट र अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा बरालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै ओलम्पिकमा भाग लिएका नेपाल भरीका खेलाडीहरु बिरामी भई उपचारका लागि नोबेल अस्पताल आएको खण्डमा अस्पतालले क्याविनसहित निशुल्क उपचार सेवा उपलब्ध गराउनेछ ।
त्यस्तै खेलाडीका परिवार (आमा, बुवा, श्रीमान् वा श्रीमती र छोराछोरी) को लागि उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिनेछ । यसका लागि अस्पतालले छुटको कार्ड उपलब्ध गराउनेछ । जसमा खेलाडीको विवरण, फोटो, परिवारको सदस्यहरुको फोटो र विवरणमा ओलम्पियन्स संघले प्रमाणित गर्नुपर्नेछ ।
सामाजिक उत्तरदायित्व अन्तरगत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुद ओलम्पिकमा भाग लिएका खेलाडीहरु र उनीहरुको परिवारको सदस्यहरुको उपचारमा विशेष सुविधा दिने उद्देश्यले सम्झौता गरिएको अस्पतालले जनाएको छ ।